बैजनाथको नीति तथा कार्यक्रम बहुमतले पारित, बिहीबार बजेट प्रस्तुत हुँदै

कोहलपुर, असार १०,

बैजनाथ गाउँपालिका बाँकेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि स्थानीय सरकारले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको हो । गाउँपालिका प्रमुख मान बहादुर रुचाल ठकुरीले सोमबार नीति कार्यक्रम पेश गरेका थिए ।

गाउँपालिकाले कोभिड–१९, कृषि र पशुपालन, सडक, शिक्षा, खानेपानी, खेलकुद, भौतिक निर्माण, आयआर्जन, सुकुम्वासी समस्या समाधान, नौवस्ता औद्योगिक क्षेत्र निर्माण, कर्मचारी र जनप्रतिनिधिलाई तालिम, विपद् व्यवस्थापन एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो । बुधबार गाउँपालिका उपप्रमुख शारदा रेग्मी विश्वकर्माको सभाध्यक्षतामा भएको सभामा ५ जना सभाषदले नीति तथा कार्यक्रम माथी टिप्पणी गरेका थिए ।

छलफलका क्रममा उठेका विभिन्न विषयमा गाउँपालिका प्रमुख रुचालले जवाफ दिँदै नीति कार्यक्रम गाउँ सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताएका छन् । ६ पानामा तयार पारिएको नीति तथा कार्यक्रम २० शीर्षक समेटिएको बताए । उनले निकै छोटो नीति तथा कार्यक्रमका उद्देश्य बृहत रहेको भन्दै कृषि क्षेत्रमा एक वडा एक पकेट क्षेत्र बनाउने, पशु पालन व्यवसायलाई व्यवसायीकरण गर्नको लागि मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना हुने हो । महिलाहरुको आर्थिक समृद्धिका कार्यक्रम संचालन गर्ने, जेष्ठ नागरिकलाई भत्ताको व्यवस्था जस्ता महत्वकांक्षी छ योजनाहरु समेटेको जानकारी दिए ।

यस्तै गाउँपालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दैछ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप बैजनाथ गाउँपालिकाले बजेट प्रस्तुत गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share