वामगठवन्धनका उम्मेदवारलाई जिताउन नेता शंकर पोख्रेलको अनुरोध

नेपालगन्ज,७ मंसिर,
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बाँके जिल्लाको समृद्धिका लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका छन् ।

विहिबार नेपालगन्जमा आयोजित उद्योगी, व्यापारीहरुको भेलालाई सम्बोधन गर्दै ५ नं. प्रदेशका सम्भावित मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “वामगठबन्धनको सरकार बनाउन बाँके जिल्लाले सहयोग गर्यो भने बाँकेवासीले सोचेभन्दा बढी अवसर प्राप्त गर्नेछ ।”
औद्योगिक विकासका लागि बाँके जिल्ला अत्यन्त उपयुक्त रहेको उनले बताए । बाँके औद्योगिक तथा पर्यटकीय क्षेत्रका लागि प्रदेशकै उत्तम स्थान भएको उनको धारणा रहेको थियो ।

आफु मुख्यमन्त्री हुने व्यक्तिगत चाहना भन्दा वामगठबन्धनका दुई शीर्ष नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको लागि राखेको प्रस्तावलाई स्वीकार गरेको वहाँले उल्लेख गरे । “५ नं. प्रदेशमा म मुख्य मन्त्री भईसकेपछि ५ वर्षमै उल्लेखनीय काम गरी हेर्न र देख्नलायक प्रगति गर्नेछु ।” नेता पोख्रेलले भने,–“तर, त्यसपश्चात म अहिले नै घोषणा गर्छु पुनः मुख्यमन्त्री दोहोरिने छैन ।”

एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक स्थायीत्व र स्थायी सरकारले देशको विकास गर्न सक्ने बताउनु भयो । ‘हाम्रो देशमा भएका ठूल्ठूला आन्दोलन व्यवस्था फेरे पनि अवस्था फेर्न सकेन, पोखरेलले भने, अब स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ ।’ उनले अब देशको विकासका लागि जागिर होइन, उद्यमशील र आर्थिक क्रियाकलाप कै बढोत्तरी गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *