फिफा बरीयतामा नेपाल १७०औँ स्थानमा, ६ स्थानको फड्को

काठमाडौं, मंसिर ७ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको पछिल्लो बरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ।

फिफाले बिहीबार जारी गरेको बरीयता सूचीमा नेपाल १७०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ७६औँ स्थानमा थियो। यो महिना नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो।

बरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत बरीयतामा १०५औं स्थानमा छ।

सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५७औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो।

नेपालभन्दा तल रहेको भुटान १८५औं स्थानमा छ। भुटान ५ स्थान माथि उक्लिएको छ। बंगलादेश १९२औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन्। पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ। श्रीलंका एसियाको पुछारबाट दोस्रो स्थानमा छ।

विश्व वरीयताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ। चौथो स्थानमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम र छैटौं स्थानमा स्पेन छ। यस्तै, पोल्यान्ड सातौं स्थानमा, स्विट्जरल्यान्ड आठौं, फ्रान्स नवौं र चिली दसौं स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *