डोल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
डोल्पा, मंसिर ७ ।
डोल्पामा कांग्रेस एमालेका कार्यकर्ताबीच झडप भएको छ । आसन्न निर्वाचनको प्रचारप्रचार गर्ने क्रममा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा झडप भएको हो ।
होटेलमासँगै खाना खाने क्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ठुलीभेरी नगरपालिका-८ का जीवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइते भएका भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।
नेपाली कांग्रेस, डोल्पाका सभापति अंगत बुढाले उपल्लो डोल्पाका मतदान केन्द्रमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरी एजेन्ट पत्रसमेत च्यातिदिएको बताए ।
घाइते भण्डारीसँगै गएका सूर्य टमाटा, राणाजी बुढा, हिराचन भण्डारीलाई रातभरी रुखमा बाधेर हत्या गर्ने प्रयास गरिएको कांग्रेसले आरोप लगाएको छ ।
यता स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेको बताइ रहँदा कांग्रेसले भने मतदाता र एजेन्टको सुरक्षाको ग्यारेन्टी नलिए उपल्लो डोल्पाबाट चुनावमा सहभागी नहुने बताएको छ ।