युएइसँग नेपाल ५ रनले स्तब्ध

 

काठमाडौं, मंसिर ७

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसँग ५ रनले पराजित भएको छ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनायो।

८० रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा ५ रन मात्र बनाउन सकेपछि नेपाल पराजित हुन पुगेको हो । नेपालका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके।

नेपालको स्कोर १० रन हुँदा सीता रानामगर सात रनमा आउट भइन् भने त्यसको लगत्तै इन्दु बर्मा पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किइन्। त्यसपछि थप एक रन जोड्दा कप्तान नेरी थापा डकआउट भएपछि नेपालले ११ रनमा तीन विकेट गुमायो। नेपालको स्कोर २७ रन हुँदा ज्योती पाण्डे व्यक्त्तिगत १२ रनमा पेभेलियन फर्कएपछि नेपालले चार विकेट खेर फाल्यो।

त्यसपछि नेपालले थप ४१ रन बनाउँदा सात विकेट गुमाइ सकेको थियो। जसकारण नेपाल पूर्ण रुपमा दबावमा पर्यो। नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन्। एकपछि अर्को विकेट गुमाएको नेपालका लागि रितु कनौजियाले २२ रन बनाउँदै जितको आशा देखाए पनि नेपाल लक्ष्यसम्म पुग्न सकेन।

युएइका लागि नीशा अली र हुमारिया तस्निमले समान २/२ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको युएइका लागि नताशा चेरियथले सर्वाधिक २३ तथा इशा रोहितले २२ रन बनाए । बलिङतर्फ नेपालकी रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुई र नेरी थापाले एक विकेट लिए।

एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल पाचौँ स्थानमा छ । ३ खेल खेलेको नेपालको २ अंक छ । अंक तालिकाको शिर्ष स्थानमा थाइल्याण्ड रहेको छ ।

नेपालले अर्को खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *