‘ओलीजी मतदान सकिएपछि पनि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ भनेर भन्न बेर लाउनुहुन्न’ – देउवा

काठमाडौं, मंसिर ६ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले आफूमाथि अनावाश्यक आरोप लगाउने गरेको गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग बुधबार बालुवाटरमा भेट गर्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले बारम्बार आफुलाई निर्वाचन सार्न लागेको भनेर आफुमाथि भ्रमको खेती गरिरहेको भन्दै त्यस्तो भ्रमका पछि नलाग्न आव्हान गरेका छन् । उनले जस्तोसुकै हालतमा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने पक्षमा आफु रहेकोे पनि प्रष्ट पारे ।

एमाले अध्यक्ष केपी ओलीको नाम लिदै प्रधानमन्त्री देउवाले भने ‘केपी ओलीजीले निर्वाचन सार्न लागेको भनेर पटक पटक भन्दै आउनुभएको छ । उहाँले विनाआधार किन त्यस्तो कुरा गर्नुहुन्छ मलाइ थाहा छैन । उहाँले त मतदान सकिएपछि पनि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ भनेर भन्न बेर लाउनुहुन्न ।’

निर्वाचन सम्पन्न गर्न आफु अहोरात्र लागिरहेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनको सबै तयारी पनि भइसकेकाले अव निर्वाचन सर्ला कि भनेर आशंका नगर्न आग्रह गरे । ‘कुनै हालतमा निर्वाचन सर्दैन । बरु तपाई सञ्चारकर्मीले सहयोग गर्नुस् । बम पड्काउने काम भइरहेको छ उनीहरुलाई निस्तेज गर्न सहयोग गर्नुस् ।’

भेटमा महासंघको टोलीले राज्यले नियन्त्रणमा लिएका ८ जना पत्रकारहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ । जवाफमा गृहमन्त्री समेत रहनु भएका प्रधानमन्त्री देउवाले पत्रकार नियन्त्रणमा लिएकोबारे आफुलाई थाहा नै नभएको भन्दै त्यसबारे बुझ्ने बताए । महासंघका अध्यक्ष गोविन्द आचार्यको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार अपरान्ह बालुवाटार पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *