चुनावको मुखमा चार डिआइजी एआइजीमा बढुवा, २ एआइजीको सरुवा

काठमाडौं, मंसिर ६ ।
सरकारले नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरेको छ । पहिलो चरणको निर्वाचन आउन ४ दिन मात्रै बाँकि रहँदा बाग्लुङ र नुवाकोटका प्रहरी प्रमुख समेत फेरिएका छन् ।

गृहमन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रभानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ ।

आज सम्पन्न बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो । भट्टलाई प्रहरी निरीक्षकको कार्यालयमा तानिएको छ ।

प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद्मा तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजीमा बढुवा भएका हुन् ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।
गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान रहे पनि उनीहरु विरुद्ध कुनै पनि उजुरी नपरेपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *