पाँच वर्षको स्थायी सरकार दिने ओलीको दाबी

चितवन ५ मङ्सिर – नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दाबी गरेका छन्। भरतपुरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनदेखि नतर्सिन आग्रह गर्दै निर्वाचनपछि देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दोहोर्याए। शान्ति र स्थायित्वका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको दाबी गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठबन्धनले देशमा ५ वर्षको स्थायी सरकार दिने बताए। ‘निर्वाचनपछि मुलुकमा एउटा स्थायित्व आउँछ। हामी स्थायी सरकार दिन्छौं’, ओलीले भने, ‘देश बनाउन पाँच वर्ष सरकार चलाउँछौं।’ कम्युनिस्ट सरकार आए देशमा अधिनायकवाद स्थापित हुने नेपाली कांग्रेसको पछिल्ला अभिव्यक्तिको चर्को आलोचना गरे। अध्यक्ष ओलीले उदारीकरणको नाममा उद्योग बेचेर खाने काम अबको सरकारले नगर्ने दाबी समेत गरे। भृकुटी कागज कारखाना, बासवारी छाला जुत्ता कहाँ गयो भन्दै सोधेका ओलीले ३८ वटा उद्योग ध्वस्त पार्ने र ४० लाख युवालाई खाडी मुलुक पठाएको जिम्मा कांग्रेसले लिनुपर्ने उल्लेख गरे।