नाकामा जडान हुँदै अत्याधुनिक प्रविधि

काठमाडौं,४ मंसिर । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।


यस्तो छ तयारी तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दैछ । सोही प्रणालीको माध्यमबाट अपराध गरेर भाग्न खोज्नेहरु केहीबेरमै समातिने यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यकाका विभिन्न नाकामा ‘इम्बोस्ड नम्बर प्लेट रिडर गेट’ जडान गर्ने प्रक्रिया अगाडि बढेको हो । विभागका अनुसार पहिलो चरणमा नागढुंगा, जोरपाटी, नागार्जुन, साँगा र दक्षिणकाली नाकामा उक्त गेट जडान गरिँदैछ ।

विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार दोस्रो चरणमा उपत्यकाबाहिरका पाँच वटा मुख्य शहरमा पनि अत्याधुनिक प्रणाली जडान गर्ने तयारी छ ।

पहिलो चरणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको पाण्डेले जानकारी दिए । उनका अनुसार सम्बन्धित स्थानीय तहले जग्गा उपलब्ध गराएलगत्तै गेट जडान गरिने छ ।

इम्बोस्ड प्लेट छपाइको जिम्मा पाएको टाइगर-डेकाटुर कम्पनीले नै ती गेटहरु जडान गर्नेछ । उक्त प्रणाली सञ्चालनमा आएसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहयोग पुग्ने सरकारी विश्वास देखिन्छ ।

‘केही समयपछि सबै सवारी साधनलाई अनिवार्य रुपमा इम्बोस्डमा जान बाध्य पार्छौं । त्यसपछि आपराधिक गतिविधिमा संलग्न भएका सवारी भित्रिएको र बाहिरिएको रेकर्ड यस्ता गेटहरुमा रहनेछ,’ पाण्डेले भने ।

उपत्यकामा भित्रिएका र बाहिरिएका सवारी साधनको अभिलेख अटोमेटिक रुपमा सरकारलाई प्राप्त हुने भएकाले सोही आधारमा उपत्यकाको सवारी व्यवस्थापन प्रभावकारी बन्ने अपेक्षा रहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *