निरीह प्रचण्ड

–कपिल अन्जान

आज विहानैदेखि सामाजिक संजालहरुमा श्रद्धाञ्जलीका खबरहरुले व्यापक रुपमा चर्चा पाए । संचार माध्यमहरु तथा जनजिब्रोमा प्रकाश दाहालको नाम नै झुण्डियो । कतिले सहानुभुतिका भाकाहरु सुसेले भने कतिले दश वर्षे जनयुद्धको असरलाई सम्झिदैँ नकारात्मक टिप्पिणी उठाइरहे । यथार्थमा प्रकाश यो संसारमा अब छैनन् ।


सामान्य मानिस जस्तो उनी हैनन्, अर्थात उनी दश बर्षे जनयुद्धका लिडर भनौं या कमाण्डर पुष्प कमल दाहाल प्रचण्डका एक्ला छोरा थिए । विधिको विधान भनौं या प्रकृतिको नियम । आज विहान प्रकाशको असामहिक रुपमा निधन भयो ।
करिब विहान ६ बजे नर्भिक अस्पताल लगे पनि निवासमै उनको निधन भएको अस्पतालले औपचारिक पुष्टि गर्यो ।
झापामा रहेका प्रचण्डले जब यो कुरा सुने होलान् सायद उनी पिता भएकै कारणले नर्भिकसम्म आइनपुग्दा हज्जारौं पटक भक्कानिए होलान् ।

अभिभावक सन्तानको लागि जहिल्यै निरीह हुन्छ । प्रचण्ड पनि उनै निरीह पिता हुन जो पटक पटक प्रकाशका गल्ती र स्टण्डहरुमा चुपचाप बसे । उनी मौन बसेकैले पार्टी भित्र र बाहिर आलोचना खेप्न पर्यो । बेला बेलामा पार्टी फुट्ने कुराले पिरोलेर निरीह बने । उनी धेरै ठाउँमा चिप्लिए, थोरै ठाउँमा सम्हालिए । आज उनी सन्तानको वियोगमा छन् ।


बाल्यकालमा आफैले हुर्काए आज उनै निरीह पिताले आफ्नै हातले अन्तिम दागबत्ती दिए । उनी राम्ररी भक्कानिन पनि सायद पाएनन् होला । केहि वर्षअघि छोरी जेठि छोरी ज्ञानुको निधनको चोट सेलाउन नपाउँदै यता प्रकाशको निधनले मर्माहात भएका छन् । उनी पिता हुन्, सन्तान गुम्नुको जति पिडा सायद यो संसारमा अरुलाई नहोला पनि ।
यो कुनै क्रान्ति पनि हैन, अब बाँकी जिन्दगी उनी भक्कानिनेछन् ।

आज विभिन्न राजनैतिक दलका शीर्ष नेता, कलाकार तथा उद्योगी, व्यापारीहरु आएर प्रकाशलाई श्रद्धान्जली र प्रचण्डलाई सहानुभूति दिए पनि पुत्रको वियोगको पिडा उनी, पत्नी सीता र बुहारी जति अरुलाई हुने छैन ।


कतिले भन्दै थिए, जनयुद्धमा जसरी आफ्ना सन्तानहरुलाई दागबत्ती दिएका थिए, आज प्रचण्डले त्यही नियतीको भोग्नु पर्यो । भन्नेहरुले यो पनि भन्दै थिए, प्रकाशकै लागि प्रचण्डले अकुत सम्पत्ती आर्जन गरेका छन् । अब कसका लागि उनले यस्तो गर्लान् । सायद, धेरैको अड्कल यहि होला । कुरा जे सुकै होस् । प्रकाश अब यो संसारमा छैनन् ।

पार्टीभित्र र बाहिर उनको योगदान होला । तथापी उनी एक शक्तिशाली नेताका पुत्र थिए । त्यो भन्दा बलियो उदाहरण उनले कतै पेश गर्न सकेनन् या प्रचण्डको छाँयाले उनलाई छोपिदियो ।

उनको शवलाई लाजिम्पाटदेखि थापाथली, पेरिसडाँडा हुँदै अन्त्यमा पशुपति आर्यघाटमा लगियो । करिब ८ देखि १० किलोमिटरमा प्रकाशको यात्रा सकियो ।


आउँदो प्रतिनिधि सभा र प्रदेशको चुनावमा प्रकाशको भूमिका ठूलो हुने थियो । अब यो अभाव बामगठबन्धनलाई हुनेछ । उनको निधनले नेपाली राजनीतिमा खासै फरक नपार्ला तर राजनीति गर्ने प्रचण्डको जीवनमा भने धेरै फरक अर्थ राख्नेछ । कहिले पुत्रले जनयुद्धमा जोगाए, कहिले पिताले । बम बारुदले छुन नसकेको प्रकाशको शरीरलाई हृदयले घात गरिदियो । उनलाई हृदयघातले चिराचिरा पारिदियो । यो कुनै विस्फोट भन्दा पनि विल्कुलै हुनेछ प्रचण्डलाई । प्रकाश अब यो संसारमा छैनन् ।

आँखाभरि आँसु लिएर प्रचण्ड पटक पटक भावुक बने । कहिले पेरिसडाँडामा पार्टिका झण्डा ओढाउँदा होस् कहिले प्रकाशको शरीरलाई अन्तिम पटक यो संसारबाट विदा गर्न दागबत्ति दिँदा होस् । बारम्बार निरीह बने, निरीह प्रचण्ड ।

प्रकाशप्रति हार्दिक श्रद्धाञ्जली ।

३ मंसिर २०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *