‘काठमाडौं टावर’ २९ तले भवन निर्माण अझै अन्योलमा

 

कार्यदलले टावर निर्माणमा भएको प्रगति र ठेकेदार कम्पनीको काम गराइबारे अध्ययन गरेर सम्झौता जारी राख्ने/नराख्ने भन्नेबारे सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदन प्राप्त हुनासाथ टावर निर्माणमा रहेका सबै अन्योल हटाउने महानगरपालिकाले जनाएको छ ।३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘काठमाडौं टावर’ निर्माणबारे यसअघि भएका निर्णय र सम्झौता पुनरावलोकन गर्ने भएको छ । यसका लागि निर्देशक हरि कुँवरको संयोजकत्वमा महानगरपालिकाले कार्यदल बनाएर अध्ययन गरिरहेको छ ।

निर्माण-सञ्चालन-हस्तान्तरण (बुट) मोडेलमा निर्माण र २५ वर्षसम्म आफैंले सञ्चालन गर्ने जिम्मा पाएको जलेश्वर-स्वछन्द बिकोई कम्पनीले पनि टावरका लागि लगानी जुटाउन सकेको छैन ।रत्नपार्कस्थित पूरानो बसपार्कमा निर्माण गर्न लागिएको टावरका सम्बन्धमा विभिन्न विवाद छन् ।

त्यसैले निर्माणसम्बन्धमा महानगरबाट यसअघि भएको निर्णय पुनरावलोकन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

कति तलाको टावर निर्माण गर्ने भन्ने विषयमा ठेकेदार कम्पनी र महानगरपालिकाबीच विवाद छ । स्थानीय बासिन्दाले पनि बसपार्क मिचेर टावर बनाउने विषयमा चित्त बुझाएका छैनन् ।

 

१२ वैशाख ०७२ को विनासकारी भूकम्पअघि नै टावर निर्माणका लागि सम्झौता भएको थियो । त्यतिबेला २९ तला बनाउने भनिएको थियो । नक्सा भने १२ तलाको मात्रै पास भएको थियो ।

भूकम्पपछि अपनाइएको मापदण्डअनुसार काठमाडौंमा अग्ला भवन निर्माण गर्न रोक लाग्यो । सोही कारण उक्त टावर १२ तलामै सीमित हुने अवस्था आयो ।

लगानीकर्ता कम्पनीले २९ तला नै हुनुपर्ने, नत्र भाडा घटाउनुपर्ने अडान राखेको छ । महानगरपालिका भने त्यसमा सहमति दिएको छैन ।

१२ तलाभन्दा अग्लो भवन निर्माणका लागि सरकारले छुट्टै मापदण्ड बनाउनुपर्ने महानगरका सह-प्रवक्ता नवराज ढकालको भनाइ छ ।

महानगरलाई ठेकेदार कम्पनीले वाषिर्क दुई करोड ३५ लाख रुपैयाँ तिर्नुपर्ने सम्झौता छ । उक्त रकम बर्सेनि दुई दशमलव पाँच प्रतिशतका दरले वृद्धि हुन्छ ।

नक्सा पास भएको दुई वर्षसम्म पनि काम शुरु नगरे महानगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाउन मिल्ने व्यवस्था सम्झौतामा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *