उम्मेदवारलाई लक्षित गरेर सिलसिलेवार बम प्रहार

काठमाण्डौं, २ मंसिर, चुनाव नजिकिँदै गर्दा पछिल्लो समय उम्मेदवारहरुलाई लक्षित गरि आपराधिक समूहले बम प्रहार गर्दै आएको छ । एकातिर चुनावको मिति नजिकै आएको र अर्कातिर उम्मेदवारहरुले आफु असुरक्षित महशुस गर्न थालेका छन् । सरकारले आफुहरुलाई सुरक्षा र चाँसो नदिएको भन्दै उम्मेदवारहरु आक्रोशित भएका छन् ।

आजै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको छ ।

गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरेर लमजुङको बेशीहरमा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा दिउँसो ३स्१५ बजे नेता रामचन्द्र पौडेल चढेको गाडिमा बम प्रहार भएको थियो । बम प्रहारबाट नेता पौडेल चढेको सवारी साधनको सिसा फुटेको छ । नेता पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।
उक्त घटनाको भोर भत्र्सना गर्दै नेपाली काँग्रेसले यस्ता आपराधिक घटनाहरु घटिरहनु अत्यन्त दुःखद भएको बताएको छ।
सो घटनाको विरोधमा विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुने छैनन् ।’

त्यस्तै हिजो मात्रै नुवाकोटमा नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको थियो । ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा बम प्रहार भएको हो । बम प्रहार हुँदा चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ भने ४ जना घाइते भएका छन् । उक्त विष्फोट कसले गराएको भन्ने बारे आधिकारिक पुष्टि भएको छैन ।

त्यस्तै भोजपुरमा जिल्लामा पनि केहि दिन अघि पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा ९ख० का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडीमा बम प्रहार भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरमा उम्मेदवारसहितको सर्वदलीय बैठकपछि दलका कार्यक्रम र उम्मेदवारको सुरक्षालाई थप कडाइ गर्ने निर्णय गरेका हुन ।

उम्मेदवार र राजनैतिक दलहरुसँग छलफल गरि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले शेरधन राईसँग मात्र अङ्गरक्षक रहेकोमा थप पाँच जना उम्मेदवारलाई पनि अङ्गरक्षक उपलब्ध गराइएको छ ।

त्यस्तै संखुवासभा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको थियो ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा चढेको गाडीमा बिहान १०:०० बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

त्यस्तै रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गर्दै बम विष्फोट गरिएको थियो ।

बिहीबार दिउँसो बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पुन चुनाव प्रचारप्रसारको क्रममा घरदैलो गर्दै हिँड्दा उनको गाडीमाथि पछाडिबाट बम प्रहार भएको हो । घटनामा कुनै क्षति भने भएको छैन ।

त्यस्तै केहि दिनअघि मात्रै रुकुममा पूर्व गृहमन्त्री समेत रहेका बिनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी चौरजहारी नगरपालिका वडा नं.–८ गोइरीमा बम प्रहार गरिएको हो ।

शर्मा लगायतको प्रचार टोली चौरजहारीको चुनावी कार्यक्रम सकेर सानीभेरीको सिम्लीमा चुनावी कार्यक्रम गर्न आउने क्रममा गोइरीमा बम प्रहार भएको थियो । रेड बुलको क्यानमा बम फिट गरी मन्त्री चढेको गाडी नजिकै प्रहार गरिएको प्रहरीले बताएको छ । बम प्रहारवाट कुनै क्षति भएको छैन । जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्माको गाडी अघिपछि गाडी भए पनि शर्माकै गाडीलाई लक्षित गरी बम प्रहार गर्नु आपराधिक मनसाय भएको जनाउँदै नेकपा माओवादी केन्द्रले घटनाको घोर गरेको छ ।

सिलसिलेवार रुपमा गरिएका यस्ता घटनाहरुले एकातिर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आशंका गर्न थालिएको छ । राजनैतिक दल तथा उम्मेदवारहरुले तत्काल दोषीलाई पत्ता लगाई कसैको जीउ ज्यान उद्देश्यले बम प्रहार गरिएको भन्दै यस्ता आपराधिक घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाही हुनपर्ने माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *