जुत्ता -कविता /हेमन्त शिशिर

जुत्ता

यदि यो प्रकृति ले नै मान्छे को
खुट्टा मा जन्मजात एक जोर जुत्ता
लगाइदिएको भए ,
गरिब ले दिनभरि डुलेका
फोहोर खुट्टा हरूमा लागेको
धूलो थुक ले पुछेर
सिरानी मा जुत्ता च्यापेर सुत्नुपर्ने
थिएन
साँच्चै तिनीहरू लाई
खुट्टा हराउनु को पीडा र जुत्ता
हराउनु को पीडा बराबर हुन्छ ।
यदि सभ्यता ले नै संसार का सारा
मान्छे लाई खाली खुट्टा हिड्न
सिकाइदिएको भए ,
तिनीहरू लाई
ईश्वर संग यो बिन्ती बिसाउनु
पर्ने थिएन
यो साल मेरो जुत्ता
पानी ले नखाई देओस
यो साल मेरो जुत्ता जाडो ले नखाई
देओस ।

हेमन्त शिशिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *