बाल विवाह मुक्त वडा घोषणा कार्यान्वयनका लागि सरोकारवालाको ऐक्यबद्धता

बिधुत्मा रैका,
कोहलपुर, साउन १९,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का स्थानीय नागरिक तथा सरोकारवाला निकायहरुले बाल विवाह मुक्त वडा घोषणा कार्यान्वयनका लागि ऐक्यबद्धता जनाएका छन् ।

सोमबार बाल बिवाह मुक्त घोषणा कार्यक्रममका सहभागिहरुले बाल बिवाह मुक्त वडा घोषणाको कार्यान्वयनका लागि प्रतिवद्ध रहेको भन्दै प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि ऐक्यवद्धता जनाएका हुन् । कोहलपुर नगर नगरपालिकाका नगर प्रमुख लूट बहादुर रावत, उपप्रमुख सञ्जु कुमारी चौधरी, वडा अध्यक्ष गोपीलाल खनाल, सचिब मिन बहादुर बिश्वकर्मा, लगायत वडा स्तरिय सरोकारवालाहरु, जनप्रतिनिधि, सरकारी कर्मचारी, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरु, बाल तथा किशोरी क्लब, सुरक्षाकर्मी तथा संचारकर्मीहरुले बाल विवाह मुक्त वडा घोषणा कार्यान्वयनका लागि हस्ताक्षर गर्दै एकमत जाहेर गरेका हुन् ।

सोमबार एक कार्यक्रमका बिच वडा नम्बर १ लाई बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । वडामा बिभिन्न स्थानमा हुने बाल बिवाहलाई नियन्त्रण गर्दै सबै रणनीति पुरा गरि बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो । वडा अध्यक्ष खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख रावत प्रमुख अतिथी रहेका थिए भने उपप्रमुख चौधरी विशिष्ट अतिथी रहेका थिए । प्रमुख अतिथी रावतले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । रावतले बाल बिवाह गर्नाले बौद्धिक, शैक्षिक, मानसिक, सामाजिक, आर्थिक तथा शारिरिक रुपमा दिर्घकालिन असर पर्ने भएकोले बाल बिवाहको अन्त्य गर्न आवश्यक रहेको बताए । कार्यक्रममा रावतले बाल बिवाह गर्न नहुने कुरा अभिभावकले बुझिसकेको भएपनि बालबालिका आफैले भागेर बिहे गर्ने प्रचलन बढीरहेको जानकारी दिए । फरक प्रसंगमा बोल्दै रावतले कोरोना भाईरसको अर्को भेरियन्टका संक्रमित फेला परिसकेको बताउँदै सजक रहन आग्रह गरे ।

विशिष्ट अतिथी कोहलपुर नगर उपप्रमुख सञ्जु कुमारी चौधरीले २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने बताईन् । चौधरीले कोहलपुर नगरपालिकामा बाल बिवाहले पारेको असरहरुको बारेमा बताउँदैं बाल बिवाहले ज्यानको खतराका साथै समयसँगै सम्बन्धमा समेत चिसोपना आउने सम्भावना व्यापक रहेको उल्लेख गरिन् । कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्न नहुने धारणा राखिन् । कार्यक्रममा बोल्ने वक्ताहरुले वडालाई सफलताको शुभकामना दिएको छन् । उनीहरुले बाल बिवाह मुक्त मात्रै नभई सहि तरिकाले कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत, स्याक नेपाल बाँके, कोहलपुर नगरपालिकाको समन्वय, वडा कार्यालयको सहकार्य, बाल तथा किशोरी क्लबको सक्रियतामा बाल बिवाह मुक्त वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष खनालले बताए । यस महान कार्यमा सहयोग, समन्वय, सहकार्य गर्नेलाई वडा अध्यक्ष खनालले धन्यवाद दिए । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने मुख्य नारासहित प्रमुख अथिती रावतले वडा अध्यक्ष खनाललाई हस्तान्तरण गरेको घोषणा पत्र वाचन गर्दै वडा अध्यक्ष खनालले वडालाई बाल बिवाह मुक्त घोषणा गरेको घोषणा गरेका थिए । बाल बिवाह मुक्त वडा घोषणा गर्न सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

तस्बिर:विजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share