असोजसम्म झन्डै २ करोड मात्रा कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी

कोहलपुर, साउन १६,

सरकारले कोरोनाविरुद्धको झन्डै २ करोड मात्रा खोप आगामी असोजसम्म ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट १ करोड ३ लाख ८२ हजार ८ सय ५० डोज खोप ल्याउने तयारी भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले चीनको सिनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको बताए । उनले कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनेकाको १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आगामी असोजसम्म नेपाल आउने पनि बताए ।

पौडेलले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए । मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको बताएको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप प्राप्त गरिसकेको जनाएको छ ।

तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share