नहुनेको सहारा भान्साघर

कोहलपुर, जेठ २३,

नेकपा एमाले बाँकेले नेपालगंज मेडिकल कलेज शिक्षण हस्पताल कोहलपुरमा संचालन गरेको भान्साघर अहिले पनि जारी रहेको छ ।

कोभिड संक्रमण भई उपचाररत विरामी र तीनका कुरुवालाई लक्षित गरेर कोहलपुरमा भान्साघर सञ्चालन गरेको हो । लकडाउनका कारण होटल तथा भान्सा घर बन्द हुँदा भोकभोकै बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न जेठ १ गतेदेखि अस्पताल परिसरमा भान्साघरको सुरुवात गरिएको थियो ।

नेकपा एमाले बाँकेले विभिन्न सदस्यहरुबाट सहयोग संकलन गर्दै भान्सा घर सञ्चालनमा ल्याएको हो । बाँकेसहित अन्य जिल्लाबाट आएका संक्रमित र तीनका कुरुवालाई खानाको सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको एमाले बााकेका सचिवालय सदस्य अब्दुल हुसेन खानले बताए । प्रत्येक दिन बिहान २०० जना र बेलुका २०० जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याइएको खानको भनाई छ ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुनेछ भने संक्रमितहरुका लागि अण्डा तथा हप्ताको एक दिन मासुको ब्यवस्था गरिएको छ । जिल्ला कमिटि बाँकेको आयोजना तथा नेकपा एमाले नगर कमिटि कोहलपुर, नेकपा एमाले बैजनाथ तथा युवा संघ कोहलपुर/बैजनाथले भान्साघरको व्यवस्थापन गरेको छ । सहुलियत खानाका साथै नेकपा एमाले बाँकेले जिल्लाका नागरिकहरुलाई कोरोनाबाट सुरक्षित रहन सचेत पनि पारिरहेको एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोईरालाले बताए ।

कोईरालाले युवा संघले कोरोना संक्रमितका बिरामीहरुका लागि जिल्लामा निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको जानकारी दिए । उनले जिल्ला कमिटीमा सदस्यहरु मार्फत संकलन गरेको रकमले कोभिड प्रभावितहरुका लागि भान्साघर संचालन गरेको बताए । कोइरालाका अनुसार विभिन्न संघ संस्था, उद्योग लगायतले यस कार्यमा सहकार्य गरेको छ । यो अभियान करिब २ महिनासम्म संचालन हुनेछ ।

यस्तै नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य दल बहादुर सुनारले कोभिड-१९ ले पारेको समस्यासँग जुध्नका लागि एमाले बाँकेले गरेको काम उल्लेख्य रहेको बताए । उनले आफ्नो पार्टीको बैठकको निर्णय अनुसार कोरोना प्रभावितलाई राहत पुग्ने गरि खानाको व्यवस्था गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share