अशोक बमको एक कविता–सेतो सिपाही

कोभिडले थला परेर
काम गर्न नसक्ने
मेरी आमाको फोक्सोमा
एक मुठी अक्सिजन भर्न
तिमीले एक रफ्तारले
छाति थिचिरहँदा
तिम्रा कोमल औँलाहरुमा
मेरी आमाको प्राण चलेको देख्छु

सेतो पि पि इ भित्र
बाफिएको जिन्दगी लिएर
भेन्टिलेटरका तारहरु मिलाइरहँदा
मृत्यूसँग जुधिरहेका मेरा वुवाका
जिन्दगीका तारहरुको लय मिलेको देख्छु

युद्ध मैदान जस्तो
कोभिड वार्डमा
सेतो पि पि इ लगाएर उभिदा
तिम्रो अनुहार त देखिन्न
तर
जो मृत्यूसँग लडिरहेका छन्
तिनको अनुहारको प्रतिविम्व
तिम्रै अनुहारमा देख्छु

लखतरान परेर
आराम गरिरहेको तिम्रो शरिर
गर्वले उभिएको हिमाल भन्दा अग्लो छ
तिम्रो सेवाले
बाउ आमा र सन्तानका मन जोडिएकाछन्
भेन्टिलेटरमा सङ्घर्षरत
जीवन फर्किएका छन्

यो समयमा
तिमी नभए
मेरी आमाको फोक्सोले
स्वास कसरी फेर्ला ?
मेरा बुवाका जिन्दगीका तारहरु कसरी मिल्लान ?
अनि
मेरो हिमाल गर्वले कसरी उभिन सक्ला ?

त्यसैले
तिमी छौ र त
मेरी आमा छिन
बा छन्
अनि
गर्वले उभिएको हिमाल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share