नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कोहलपुर, फागुन ५,

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने बताइएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा मुख्यगरी १४ औं महाधिवेशनबारे छलफल हुने बताए । काँग्रेसले फागुन ७ गतेदेखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा सम्भव नभएपछि काँग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ । फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल रहेको छ।अब काँग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार काँग्रेसलाई थप ६ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ।काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ ।

क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको केन्द्रीय कार्यसमितिमा छलफल हुने शर्माले बताए । देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *