चाहानाले बनाएको चित्रले घरको माहौल नै कलामय

बिधुत्मा रैका,
कोहलपुर, माघ २७,

कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क बाँकेकी चाहाना आले मगर अहिले कोहलपुरमा रहेको त्रिभुवन माविमा कक्षा १२ मा साईन्स विषय पढिरहेकी छन् । उनको आर्ट पढ्ने ठुलो धोको थियो तर समयले उनलाई साईन्स पढ्न तिर तान्यो । साईन्स पढ्दै गरेपनि उनले चित्रकला तिरको मोह मार्न सकेको छैन । सानै उमेरदेखि नै चित्र कोर्न थालेकी हुन् ।

चित्रकला सुन्दर हुन्छ । मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङ्गको माध्यमबाट कापीमा चित्रकारले उतार्ने गर्छन् । चित्रमा सुन्दर भावना समेटिएको हुन्छ । सुन्दर कल्पनाले बास्नादार भएको हुन्छ । अझै भनौं भने चित्रकारको प्रेम र स्नेहले चित्रले सुन्दर आकार लिएको हुन्छ । यस्तै थुप्रै आकृतिहरु चाहानाले कोरेकी छन् । उनको कोठाभित्र छिर्ने बित्तिकै सुन्दर दृश्यले मन तान्छ ।

कोठामा व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । चाहानाले बनाएको चित्रले घरको माहौल नै कलामय छ । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । सुरुमा चित्र बनाउँदा घरपरिवार सबैलाई मन परेपछि उनको चित्र बनाउने कार्यमा बुवाआमा, हजुरआमा, दिदि सबैले प्रेरणा दिरहेका छन् । उनको धेरै समय रङसँगै खेलेर बित्छ । उनलाई घरमा चित्रकला नबनाउन कसैले बल गरेनन् । क्यानभास र कलर चलाउन स्वतन्त्र छाडिदिएका छन् । उनी त्यहीँ रङसँग खेल्छिन् ।

घरमा पनि फुर्सदको समयमा उनी चित्र कोर्न नै रुचाउँछिन् । अहिलेसम्म उनले धेरै चित्र बनाइसकेकी छन् । मन मस्तिष्कले सोच्न नसकेका कयौं अदृश्य कुराहरूलाई चित्रमा सुन्दर आकार चित्र मार्फत दिन सकिने उनले बताईन् । उनी भन्छिन्,–‘चित्र मार्फत मन लागेको कुरा स्वतन्त्र रूपमा बनाउन पाइन्छ । मनको भावना पोख्न पाइन्छ ।’

उनी विषेश गरि स्त्री आकृतिका चित्र बनाउँछिन् । चित्रकलाको सीपले अरू क्षमतामा पनि वृद्धि हुँदै जाने उनको अनुभव छ । उनले भनिन्,–‘मनको भावना प्रस्तुत गर्ने माध्यम चित्रकला हो । चित्रकलाले आत्मसन्तुष्टि प्राप्त हुन्छ र अरूलाई पनि सन्तुष्टि दिलाउँछ ।’ उनले आफ्नो ‘स्केच बुक’मा धेरै चित्रहरू कोरेकी छिन् ।

तस्बिर:बिजय परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *