‘कांग्रेस ५० वर्षसम्म सत्तामा आउन सक्दैन’ : योगेश भट्टराई

१६ पौष, २०७४
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकचरो प्रवृति देखाएको आरोप लगाए ।

एमाले सञ्चार इलाका कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा भट्टराईले भने,वंशजका शासकले अन्तिममा जसरी चुरीफुरी देखाउछन्,अहिले शेरबहादुर देउवाले त्यस्तै शैली देखाएका छन् । कांग्रेस अब ५० वर्षसम्म सत्तामा आउन सक्दैन,त्यसैले नकचरो बनेर सत्ता लम्ब्याउन खोज्दैछन् ।

कार्यक्रममा उनले केपी ओली र प्रचण्डलाई नेल्सन मण्डेला जस्तो बन्ने अवसर आएको समेत बताए । पार्टी एकता सम्पन्न गरेपछि दुवै नेताले नेल्सन मण्डेला जस्तै सर्वमान्य बन्ने गरि पार्टीको कार्यकारी भूमिकबाट बिदा लिनु उपयुक्त हुने उनको सुझाव छ ।

भट्टराईले भने, ‘ओली र प्रचण्डले आफूले गर्न सक्ने योगदान दिनुभयो,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमहरुले पनि जति योगदन दिनुपर्ने हो दिइसक्नुभएको छ,अब उहाँहरुले अवकाश लिँदा हुन्छ ।’

पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने भट्टराईले बताए । उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *