त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी
कोहलपुर, पुष २५,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणले प्रताबबाबु तिवारीलाई जिम्मेवारी दिएको छ ।
एयर ट्राफिक कन्ट्रोलर पृष्ठभूमिकामा रहेका तिवारी प्राधिकरणमा मंसिर १७ गतेको सञ्चालक समिति बैठकको निर्णयबाट १२औं तहमा बढुवा भएर उपमहानिर्देशक भएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थल डेढ महिनादेखि प्रमुखविहीन रहेको अवस्थामा तिवारीले हिजोदेखि कार्यभार सम्हालेका छन् । तिवारी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल सञ्चालन विभागका निर्देशकको रुपमा कार्यरत हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार यात्रु आवागमन भएको थियो भने आन्तरिकतर्फ ३१ लाख ८८ हजार यात्रु आवागमन भएको थियो । सन् २०२० मा भने कोभिडका कारण करिब ६५ प्रतिशत यात्रु आवागमन घटेको छ ।