निःशुल्क ह्वीलचियर पाउँदा अपाङ्गता भएका व्यक्तिहरु निकै हर्षित

बिधुत्मा रैका,
कोहलपुर, पुष २१,

बाँकेको कोहलपुरमा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क ह्वीलचिअर वितरण गरिएको छ ।

कोहलपुर नगरपालिकाको सहयोग, राष्ट्रिय अपाङ्ग पूर्नस्थापना समाज अनामनगर काठमाण्डौको चिअर सहयोग तथा नवजीवन केन्द्र कोहलपुरको आयोजनामा ह्वीलचिअर वितरण गरिएको हो । यस क्षेत्रका पूर्ण तथा अति अशक्त अपाङ्गता भएका २० जना व्यक्तिहरुलाई निःशुल्क ह्वीलचिअर दिईएको छ ।

निःशुल्क ह्वीलचिअर वितरण कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अपाङ्गता भएका व्यक्तिहरूको हितको संरक्षण र संवर्दधन गर्नको लागि कोहलपुर नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नगरप्रमुख रावतले उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुर्नस्थापना, अवसरमा समावेशीकरण गराउँन नगरपालिका जहिले पनि तत्पर रहने बताए ।

रावतले अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले प्रदान गरेको हक अधिकार बमोजिम तोकिएका सेवा, सुविधा र अवसरको उचित व्यवस्थापन गराउन निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग पूर्नस्थापना केन्द्रका उपाध्यक्ष सुगम भट्राईले आफ्नो संस्थाले वि.सं. २०६३ सालदेखि निरन्तर अपाङ्गता भएका व्यक्तिहरुको सेवामा खटेको बताए । भट्राईले वर्षमा देशैभर ६० ठाउँमा चिअर वितरण गर्दै आईरहेको जानकारी दिए । उपाध्यक्ष भट्राईले कोहलपुरमा २०२० मै चिअर वितरण गर्नुपर्ने भएपनि कोरोना महामारीका कारण ढिला भएको बताउँदै कोहलपुर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको प्रकृति हेरेर तीन प्रकारका चिअर वितरण गरेको उल्लेख गरे ।

आफूहरुले निःशुल्क ह्वीलचियर पाउँदा अपाङ्गता भएका व्यक्तिहरु निकै हर्षित भएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुले ह्वीलचियर पाउदा पुर्नजीवन पाएको बताएका थिए । शरीरका हात खुट्टा लगायतका अंगले काम नगर्दा वर्षाैंदेखि घरभित्रै बसेका दुई दर्जन अपाङ्गता भएका ब्यक्तिहरुले ह्वील चियर पाउँदा खुशी ब्यक्त गरेका हुन् । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी लगायत यस क्षेत्रका अपाङ्गता भएका व्यक्ति, सरोकारवाला निकाय पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *