‘औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या हुन्छ’–कार्यालय प्रमुख हमाल

बिधुत्मा रैका,
कोहलपुर, पुष १९,

चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने कोहलपुर स्वास्थ्य चौकीका कार्यालय प्रमुख प्रकाश जंग हमालले बताएका छन् ।

स्वास्थ्य चौकीका कार्यालय प्रमुख हमालले चिसोबाट रुघाखोकी, निमोनिया, ज्वरो, श्वासप्रश्वास, हातखुट्टा, अनुहारको छाला फुट्ने, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्नु पर्ने बताएका हुन् । हमालले चिसोबाट बच्न दैनिक क्रियाकलापमा सचेत रहन सुझाव दिएका छन् ।

उनले खानपान र रहनसहनमा विशेष ध्यान दिनुपर्ने बताए । तातो तथा झोलिलो खाने, न्यानो लुगा लगाउँनाले चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने हमालको भनाई छ । चिसोले विषेश गरि बालबालिका तथा वृद्धवृद्धा बढी असर गर्ने भएको हुँदा उनीहरुलाई न्यानो बनाएर राख्न आग्रह गरे । हाल कोहलपुर स्वास्थ्य चौकीमा चिसोबाट ग्रसित बिरामीहरु आउने गरेको उनले बताएका छन् ।

कोरोना भाईरस कोभिड–१९ का कारण लामो समय बन्द रहेको कोहलपुर स्वास्थ्य चौकीका सेवाहरु हाल नियमित प्रवाह भैरहेका छन् । स्वास्थ्य क्षेत्रमा कोरोनाको उच्च जोखिम रहेपनि स्वास्थ्य सतर्कता अपनाउँदै अहिले स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको हो । हाल स्वास्थ्य चौकीबाट खोप सेवा, परामर्श सेवा तथा उपचार सेवा दिईने गरेको हमालले बताएका छन् ।

स्वास्थ्य कार्यालयका सम्पूर्ण कर्मचारी सहित कार्यालय प्रमुख हमाल कोरोनाको महामारीबीच पनि स्वास्थ्य सेवाका लागि निरन्तर खेटेका छन् । उनी भन्छन्,–‘हामी स्वस्थ्य सेवाका लागि निरन्तर लागिरहेका छौं । तर चौकीमा कहिलेकाही औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको छ । उपचारका लागि स्वास्थ्य चौकी आएका बिरामीलाई निःशुल्क पाउने औषधि किन्न मेडिकल पठाउनुपर्ने बाध्यता रहेको छ ।’ उनले स्वास्थ्य चौकीमा औषधी नपाउँदा सेवाग्राहीहरु आफूसँग रिसाउने, कराउने गरेको गुनासो गरे ।

प्रत्यक महिनाको ३÷३ पटक औषधीको माग हुने गरेको छ । औषधी खरिद समयमै नगर्नाले स्वास्थ्य चौकीमा औषधी अभाव हुने गरेको छ । औषधी खरिदका लागि टेण्डर आह्वान गरिन्छ । जसका लागि हाल नगरपालिकाले औषधी खरिद गरि नगर स्वाथ्य शाखामा दिने र नगर स्वास्थ्य शाखाबाट नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई औषधी पुर्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *