जलविद् पराजुली भन्छन्,–‘सूचना दिने सवालमा चुक्नु हुँदैन’

बिधुत्मा रैका,
कोहलपुर, पुष १७,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ लोकनगरमा निर्माणाधिन कार्यलाय भवनको निर्माण कार्य संपन्न भएसँगै जल तथा मौसम विज्ञान कार्यालयको सञ्चालन नवनिर्मित भवनबाट शुरुवात भएको छ ।

विगत कार्तिक महिनादेखि कोहलपुरको लोकनगरमा कार्यालय स्थापना भई कार्यालयले आफ्नो सेवा सुभारम्भ गरेको हो । वि.सं. २०७४ माघ महिनाबाट यस भवनको निर्माण कार्यको सुभारम्भ गरिएको थियो । करिब २ करोड ३४ लाख रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न भएपछि कार्तिक १ गतेदेखि कोहलपुरबाट जल तथा मौसम विज्ञान कार्यालयको काम सुरु भएको हो ।

सुर्खेतमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय र नेपालगञ्जमा रहेको कर्णाली वेसिन कार्यालय समायोजन गरी दुबै कार्यालयको जिम्मेवारी सहित कोहलपुरमा नयाँ कार्यालय स्थापना गरिएको जल तथा मौसम विज्ञान कार्यालय स्थापना भएको कार्यालय प्रमुख बिनोद पराजुलीले बताए । मौसम विज्ञानतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जलविज्ञानतर्फ बबई, कर्णाली र महाकाली नदी जलाधार क्षेत्र हेर्ने गरी कोहलपुरमा जल तथा मौसम विज्ञान कार्यालय स्थापना भएको कार्यालय प्रमुख पराजुलीले बताए । नेपाल सरकारको निर्णय अनुसार कोहलपुरमा कार्यालय सञ्चालनमा ल्याईएको पराजुलीले जानकारी दिए ।

कोहलपुरमा कार्यालय स्थापना हुँदा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा तीन वटा नदी जलाधार क्षेत्रमा सहज पहुँच पुग्ने पराजुलीले बताए । कर्णाली तथा सुदूरपश्चिम प्रदेश तथा बबई जलाधार क्षेत्र बाँके, बर्दिया तथा दाङ यस कार्यालयको कार्य क्षेत्र रहेको छ । ‘कोहलपुरमा स्थापना भएको यस कार्यालयले यस क्षेत्रमा रहेका सम्पूर्ण जल तथा मौसमी केन्द्रहरु सञ्चालन गर्ने, केन्द्रहरुबाट मौसमसम्बन्धि डाटा सङ्कलन, प्रशोधन तथा व्यवस्थापन गर्ने, सबै केन्द्रहरुको अनुगमन र निरिक्षण गर्ने र तथ्याङ्कहरुको गुणस्तर कायम गरी तथ्याङ्कहरु प्रकाशनको लागि विभागमा पठाउने काम गर्दछ । यस बाहेक यस क्षेत्रको अतिजन्य मौसम तथा बाढी लगायतका अवस्थामा पूर्व सूचना उपलब्ध गराउने काम समेत यस कार्यालयको जिम्मेवारीमा छ, कार्यालय प्रमुख पराजुलीले भने ।’ उनले थपे विभागमा रहेका मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी पूर्वानुमान तथा पूर्वसुचना सेवा समेत उपलब्ध गराउँछौं ।’

नेपालमा ४ वटा क्षेत्रीय र वेसिन तहका जल तथा मौसम विज्ञान कार्यालय छन् । जसमध्येको कोहलपुर कार्यालय पनि हो । कर्णाली र सूदूरपश्चिम प्रदेशमा रहेका ७ वटा फिल्ड कार्यालयहरुलाई हेर्ने जिम्मेवारी पनि कोहलपुरमा रहेको कार्यालयलाई तोकिएको छ । यस कार्यालयले कर्णाली तथा सुदूरपश्चिम प्रदेशको मौसम स्थितीबारे पूर्व सूचना तथा ताजा जानकारी दिनेछ । मौसमसम्बन्धि सम्पूर्ण जानकारीहरु विभागको वेवसाईटमा राखिने उनले बताए । विपद् आउनु अघि यस कार्यालय वा मौसमसम्बन्धी पूर्व जानकारी दिन मोबाईलमा म्यासेज पठाउने, फेसबुक पेजमा सूचना राख्ने गरेको छ ।

सुर्खेत र नेपालगंजको कार्यालयबाट मौसमसम्बन्धि जानकारी लिने गरेकोमा अबदेखि कोहलपुर कार्यालयबाट सुचना पाईने भएको छ । पराजुली भन्छन्,–‘सूचना दिने सवालमा चुक्नु हुँदैन ।’ उनका अनुसार मौसमको सामान्य अवस्थामा कार्यालयले नै सुचना प्रवाह गर्ने गरेको छ । तर जोखिमपूर्ण अवस्थामा भने विभाग तथा कार्यालयले गृह मन्त्रालयलाई सूचित गर्ने तथा गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुलाई ईमेल, टेलिफोन, एसएमएस लगायत मार्फत सुचना दिने गरेको कार्यालय प्रमुख पराजुलीको भनाई छ । १९ जना कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ११ जना कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *