बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको साधारण सभा, तेस्रो अधिवेशनको उद्घाटन सत्र सम्पन्न

बिधुत्मा रैका,
कोहलपुर, पुष १४,

बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको छैटौं र सातौं साधारण सभा, एंव तेस्रो अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

बाँके सुन चाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बुद्धि बहादुर बि.क.को अध्यक्षमा भएको कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै अधिकारीले सुन तथा चाँदीका क्षेत्रमा तौल, जर्ती, शुद्धता, डिजाइन, बजारभाउको उतारचढाव, युवाको पेशा पलायन जस्ता अनगिन्ती समस्याहरु यस व्यवसायमा रहेको बताएका छन् ।

अधिकारीले अन्य व्यवसाय भन्दा सुन चाँदी व्यवसाय सबैभन्दा जोखिम यूक्त व्यवसाय भएको बताउँदै यस व्यवसायका विषयमा पटक–पटक उद्योग वाणिज्य संघमा छलफल हुने गरेको जानकारी दिए । उनले यस व्यवसायले आफ्नो संस्कृति धानेको तथा यो व्यवसाय अन्य व्यवसाय भन्दा उत्कृष्ट भएको बताए । अधिकारीले ंप्रजातन्त्रदेखि गणतन्त्रसम्म राजनीतिज्ञहरुले आफूहरुलाई प्रयोग मात्रै गर्ने गरेको गुनासो गरे । व्यवसायीलाई अनेक आश्वासन दिएर आफूबाट सहयोग लिने सत्तामा पुगेपछि कुनै वास्ता नगर्ने परिपाटी राजनीतिज्ञहरुमा भएको उल्लेख गरे । आफ्नो हक अधिकारका लागि सम्पूर्ण व्यवसायीहरु एकवद्ध भएर अघि बढ्न उनले आग्रह गरे । साधारण सभा तथा अधिवेशन गरेकोमा आयोजक समितिलाई बधाई ज्ञापन गर्दै आगामी नेतृत्व सफलताका साथ चयन गर्न सुझाव दिए ।

बाँके सुन चाँदी तथा गहना व्यवसायी संघका संस्थापक अध्यक्ष बालकृष्ण दियालीले स्वागत मन्तव्य राख्दै वि.सं. २०७० सालमा संघ स्थापना गरिएको जानकारी दिए । उनले करिब १५÷१६ जनाको नृेतृत्वमा स्थापना भएको यस संघले सिङ्गो प्रदेशको नेतृत्व गर्न सफल भएको प्रति खुशी व्यक्त गरे । दियालीले सम्पूर्ण संघका सदस्यहरुको साथ सहयोगले संघले सफलता पाएको उल्लेख गरे । उद्घाटन सत्रको समापन गर्दै संघ तथा कार्यक्रमका अध्यक्ष बुद्धि बहादुर विकले आफ्नो कार्यकालमा सम्पूर्ण सदस्यहरुको सहयोगले सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रमा क्रियाशिल व्यवसायीहरुको हक हित र सामाजिक प्रतिष्ठाका लागि निरन्तर लागेको बताए । यस क्षेत्रलाई मर्यादित र प्रतिष्ठित बनाउनका लागि प्रदेश तथा केन्द्रसँग समन्वय गर्नेमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा शुभकामना व्यानर तथा स्टल सहयोग गर्ने गहना व्यवसायीलाई प्रशंसा पत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साधारण सभा तथा तेस्रो अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने छ । अहिले बन्द सत्र जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *