नेकपा विभाजनपछि चिनियाँ नेताहरु सक्रिय

कोहलपुर, पुष १२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा चीनले चासो राखेको छ ।

नेकपाको विभाजनपछिको परिस्थिति आँकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि नेपाल आउन लागेको हो ।

उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी छन् । उनको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका भने सार्वजनिक भएको छैन। नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताए ।

यसअघि, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संसद विघटनपछि राजनीतिक भेटघाटलाई तीव्रता दिए । पुस ५ मा संसद विघटन भएपछि उनले नेकपा नेता माधवकुमार नेपाल, कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *