चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै एक खर्ब २३ अर्बको आयात, व्यापार घाटा सुध्रियो

कोहलपुर, पुष ९,

कोरोना भाइरसको महामारीका कारण खुम्चिएको बजार बिस्तारै गति लिन थालेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसमा मंसिर महिनामा उच्च आयात भएको देखिएको छ । यो महिनामा मात्र १ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । कात्तिक र मंसिर महिनामा आयातमा उच्च वृद्धि भएको छ ।

कात्तिक महिनामा समेत १ खर्ब १२ अर्ब रुपैयाँ हाराहारीको वस्तु आयात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात पुरानै अवस्थामा फर्कने संकेत गरेपनि निर्यातमा भने उत्साहजनक वृद्धि छैन । पहिलो पाँच महिनामा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तर, समग्र आयात भने गत वर्षको यसै अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कम भएको छ । पछिल्लो ५ महिनाको तथ्याङ्कअनुसार निर्यातमा समेत अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५ दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ । ५ महिनामा समग्र वैदेशिक व्यापारको आकारमा भने गिरावट आएको छ । चालु आवमा कुल वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमो यस्तो रकम ६ खर्ब २८ अर्ब ७ करोड रुपैयाँको थियो ।

समग्र वैदेशिक व्यापारमा ८ दशमलव ४ प्रतिशतको गिरावट आएको तथ्याङ्क छ । समग्र आयातमा आएको कमी र निर्यातको वृद्धिले व्यापार घाटामा सामान्य सुधार देखिएको छ । विभागको तथ्याङ्क अनुसार ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा १० दशमलव ९१ प्रतिशतले कम हो । अघिल्लो वर्ष ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *