नेकपाका केपी ओली समूहले कार्यगत प्रशिक्षण सञ्चालन गर्ने

कोहलपुर, पुष ८,

नेकपाका केपी ओली समूहले कार्यगत प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रशिक्षणका लागि ओली समूहले ७ वटै प्रदेशमा नेताहरु खटाउने जनाएको छ । ओली समूहमार्फत प्रवक्ता बनेका प्रदीप ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।

यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेशमा प्रशिक्षणका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी तोकिएको छ । यस्तै अन्य प्रदेशका लागि पनि प्रशिक्षणको जिम्मा तोकिएको छ । यसैबीच, प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै छ । आन्दोलनको कार्यक्रमको लागि थप छलफल गर्नका लागि आज संसदीय दल र भोली केन्द्रीय कमिटीको बैठक डाकिएको छ । संसद विघटनको घोषणा भएसँगै नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले आफ्नो निर्णय आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहले आफूसँग बहुमत सदस्य रहेकोले बहुमत सदस्यको निर्णय नै वैधानिक हुने बताउँदै आएको छ । ओली समूहले भने अध्यक्ष, महासचिव र माईन्युट नै आफूसँग रहेकोले आफूहरुको निर्णय वैधानिक रहेको दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *