नेकपाका समानान्तर केन्द्रीय समिति बैठक बस्दै

कोहलपुर, पुष ७,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आज छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछन् ।

मंगलबारका दुवै केन्द्रीय समितिको बैठकबाट नेतृत्वले एकअर्कामाथि अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको तयारी गरेका छन् । नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुईथरी केन्द्रीय समितिको बैठकका लागि फरकफरक सन्देश नेताहरूलाई पठाइएको छ ।

पूर्व एमाले र माओवादी एकताको क्रममा दुबै तर्फबाट राखिएका दुई कार्यालय सचिवले आआफ्नो पक्षका नेताहरूलाई बैठकको सूचना पठाएको नेताहरूको भनाइ छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्ने यसअघिको स्थायी कमिटिको निर्णयलाई अनुमोदन गर्ने एक नेताले बताए । नेकपाका नेता यज्ञराज सुनुवारले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमका बारेमा छलफल र आवश्यक निर्णय गर्न दिउँसो १ बजे बैठक बस्ने जानकारी आएको बताए । बालुवाटारमा बस्ने बैठकले पनि पार्टी विरुद्धका गतिविधि गरेको भन्दै अध्यक्ष प्रचण्डलगायतका नेतालाई कारबाहीको निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

पार्टी फुटाउने निर्णय गर्दा नागरिकमा गलत सन्देश जाने भन्दै नेकपाका दुवै पक्षले सुरुमा एकअर्कालाई कारबाही गरेर अघि बढ्ने रणनीति अङ्गालेका छन् । साढे दुई वर्षअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका दुई पार्टी एकताको अढाई वर्षपछि नेकपा विभाजन नजिक पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *