प्रहरी कार्यालयमा गजल वाचन

१६ पौष, २०७४
नेपालगञ्ज : गजलको क्षेत्रमा परिचित बाँके जिल्लाको नेपालगंजमा गजल सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । शान्ति, सुरक्षालगायतका कामकाज तथा गतिविधी हुने अंचल प्रहरी कार्यालय, नेपालगञ्जको माहोल गजल वाचनले अन्य दिनभन्दा भिन्न देखिन्थ्यो । कार्यालय परिसरमा गजल वाचन भईरहँदा सेवाग्राही तथा प्रहरीहरुलेसमेत चाख मानेर सुनिरहेका थिए ।

कार्यक्रममा ३० जना बढीले आफ्ना शसक्त समसामयिक, देशभक्ति पूर्ण र मायाप्रेमका गजल वाचन गरेका थिए । गजलकारहरु महानन्द ढकाल, कपिल अन्जान, देवकी निरौला, देवेन्द्र आचार्य, महेन्द्र चन्द्र महासागर, पहल असिम, विद्या निर्दोस पहाडी, खगेन्द्र अटल, हुकुम धड्कन, विपी अस्तु, सन्तोषी विष्ट, परदीप भट्टराई, ऋचा लुईटेल, मिना ढकाल, नमिता बराल, केशव निमेश, मनोज भट्टलगायतको गजल वाचनले कार्यालय परिसर गजलमय बनेको हो ।


दिउँसो २ बजे शुरु भएको कार्यक्रम साँझ ७ बजेसम्म चलेको थियो । कार्यक्रमको आयोजना गरेका कथाकार महेश विक्रम शाहले यो क्षेत्र गजलको उर्वर भूमि भएकोले गजल सुन्न र सुनाउनका लागि यस्तो कार्यक्रमको अवधारणा ल्याईएको बताए ।

मेरो झण्डा रंग्याउने रातो दिन सक्दिन म
ज्यानै दिन सक्छु बरु माटो दिन सक्दिन म
-महानन्द ढकाल

कहाँ छ खै फैसला कुन असरसम्म पुग्यो
यो दिन आफै रोपिएर खन्जरसम्म पुग्यो
-कपिल अन्जान

मलाई ऐनासँग कुनै गुनासो छैन
र पनि चेहेरामा कतै हाँसो छैन
-देवेन्द्र आचार्य

टारी टारी रहँदैन सिम हुन सक्छ
त्यसरी नै मेरो जिवन स्वर्णिम हुनसक्छ
भोली सिमानामा गएर गजल सुनाउनु छ
आजको भेट नै अन्तिम हुनसक्छ
-हुकुम धड्कन

बाँके, बर्दिया, सुर्खेतलगायतका विभिन्न जिल्लाका साहित्यकारहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा कथाकार सनत रेग्मी, प्रज्ञा सभा सदस्य हरि तिमिल्सेना, कथाकार सुमित्रा न्यौपानेका साथै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपालगंज उपमहानगर पालिकाका उपमेयर उमा थापा, नेपालगंज उद्योग वाणिज्य महासंघका अध्यक्ष नन्दलाल वैश्य लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *