वृहस्पति र शनि ग्रह नेपालका सबै ठाउँबाट अवलोकन गर्न सकिने
कोहलपुर, पुस ६,
सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् ।
वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै वर्षपछि नजिक देखिनु खगोलशास्त्री र अन्तरिक्षविद्का लागि विशेष महत्त्व रहन्छ ।
वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा देखिए पनि रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था आठ सय वर्षपछि मात्र आएको हो । यस्तो दुर्लभ दृश्य नेपालका सबै ठाउँबाट खाली आँखाले अवलोकन गर्न सकिन्छ ।
शनि र वृहस्पति बिहान ९ बजेअघि नै उदाउने र साढे ७ बजे अस्ताउने भएकाले तथा वृहस्पति र शनिभन्दा माथि त्यही समयमा अर्धचन्द्रमासहित देखिने भएकाले पौने ६ बजेदेखि ७ बजेभित्र अवलोकन गरिसक्नुपर्ने छ ।