नेपाली काँग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै
कोहलपुर, पुष ६,
प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएकाछन् । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन । नेपाली काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच सरकारविरुद्ध प्रतिवादमा उत्रने सहमति भएको छ । हिजो साँझ काँग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन पार्टीको संयुक्त बैठकले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गरेको काँग्रेस सचेतक बालकृष्ण खाँडले बताए ।
अहिलेको सरकारविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी पनि भएको छ । काँग्रेसको हिजो बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । काँग्रेसले भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय पनि गरेको छ ।