शनिबार विवाह पञ्चमी मनाइँदै, यस वर्ष भारतको अयोध्याबाट जन्ती नआउने
कोहलपुर, पुष ४,
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ ।
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा शनिबार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। सप्ताहव्यापी महोत्सवको रुपमा मनाइने विवाहपञ्चमीमा यस वर्ष भने कुनैपनि महोत्सव धुमधामका साथ मनाइएको छैन ।
कोरोना महमारीका कारण भारतको अयोध्याबाट जन्ती आएका छैनन् भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर औपचारिक रुपमा मात्रै यस वर्षको विवाह पञ्चमी मनाउन थालिएको जानकी मन्दीरका छोटे महन्थ राम रोशन दासले बताए ।