भूमिहीन तथा सुकुम्वासीबासीलाई जग्गाधनी प्रमाण पुर्जा दिईन्छ : अध्यक्ष ज्ञवाली

कोहलपुर, मंसिर २९,

भूमिहीन तथा सुकुम्वासीबासीलाई जग्गा उपलब्ध गरि जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नको लागि सुकुम्वासीबासी समस्या समाधान आयोग लागिपरेको अध्यक्ष देवि ज्ञवालीले बताएका छन् ।

अध्यक्ष ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाईसक्ने बताए । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी रहेको उनले बताए ।

सोमबार कोहलपुरको एक कार्यक्रममा बोल्दै ज्ञवालीले भुमिहीन तथा सुकुम्वासीहरुको लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई, लागत संकलन र प्रमाणीकरणका लागि देशभरका स्थानीयतहरुलाई काम गर्न निर्देशन दिई सकेको जानकारी दिए । भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भएको उनको तर्क छ । भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण हुन आवश्यक रहेको उल्लाख गरे ।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सँगैै उनीहरूलाई पुनस्र्थापन गर्ने, भूमिको दिगो उपयोग र कृषियोग्य भूमिमा किसानको अधिकार सुनिश्चित गर्नेसमेत संविधानको भावनालाई मूर्त रूप दिन उपलब्ध जमिनको यथोचित व्यवस्थापन आवश्यक छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत रावतलाई ज्ञवालीले अबिलम्व भुमि सम्वन्धी काम गर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न आग्रह गरे ।

१५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका, वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लागत पठाउन अपिल गरेका छन् । भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम नेपाल सरकारबाट भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *