सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने अर्थमन्त्रीको भनाइ

कोहलपुर, मंसिर २८,

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को महामारीको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिन सक्नुपर्ने बताए । सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने दावी समेत गरे ।

सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु पर्याप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सरकारले के कस्ता निर्णय गर्नुपर्छ भनेर स्पष्ट सुझाव दिन समेत निजी क्षेत्रसँग आग्रह गरे । निजी क्षेत्र उत्साह र आत्मविश्वासको साथमा अगाडि बढेमा सरकारले हात र साथ दिन तयार रहेको मन्त्री पौडेलको भनाइ छ । उनले कोभिड–१९ को खोप आपूर्तिका लागि आवश्यक पर्ने स्रोतका विषयमा आवश्यक छलफल भइरहेको जानकारी पनि दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यवसायीक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए । कोभिडको बीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको गभर्नर अधिकारीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *