काँग्रेसद्धारा शिक्षक हत्याको विरोध, घटनामा संलग्नलाई कारबाही गर्न माग

कोहलपुर, मंसिर २६,

प्रमुख विपक्षी नेपाली काँग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ ।

काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्ति हत्याको राजनीति गलत भएको बताए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत चन्द समूहलाई अपील गरेको छ । बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो ।

बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधिमार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभासपतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा प्रकाशशरण महत र सुनिल थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी र डा रामशरण महतलगायत उपस्थितभएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *