नगर प्रमुखलाई कोरोना संक्रमण, नगरपालिका नै सिल

टेकराज भण्डारी, अछाम,
कोहलपुर, मंसिर १५,

अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको पिसिआर परिक्षण प्रयोगशालामा मंसिर १४ गते स्वाब दिएर गरिएको परिक्षणमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ निवासी ६६ बर्षका नगरप्रमुख देवराज देवकोटालाई संक्रमण पुष्टि भएको थियो । नगरप्रमुख देवकोटालाई कोरोना भाईरस कोभिड-१९ को संक्रमण पुष्टि भए पछि नगरपालिकाका अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण काम बन्द गर्ने गरि नगरपालिका सील गरिएको नगरपालिकाका निमित्त प्रशाशकीय अधिकृत पदम बहादुर माझीले जानकारी दिए ।

नगरप्रमुखलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको स्वाब परिक्षण गर्नुपर्ने भएकोले नगरपालिका बन्द गर्नु परेकोू प्रशाशकीय अधिकृत माझीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभए सम्म नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताईएको छ । नगरप्रमुख देवकोटासंग सम्पर्कमा आएका सम्पूर्णलाई सतर्क रही स्वास्थ्य परिक्षण गराउन समेत अनुरोध गरिएको छ ।

नगरप्रमुख देबकोटालाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिए । आफ्नो स्वास्थ्य अवस्था हाल सामान्य रहेको र सेल्फ आईसोलेशनमा बस्ने नगरप्रमुख देबकोटाले बताए । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढीरहेको छ ।

हाल जिल्लामा संक्रमितको संख्या ११ सय ८२ जना पुगेको छ । जसमध्ये ११ सय ४८ जना निको भई घर फर्किसकेका छन् भने ४ जनाको कोरानाका कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *