उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल, सदस्यमा बाँकेका अधिकारी विजयी

कोहलपुर, मंसिर १४,

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका हुन् । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत प्राप्त गरे ।

वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । त्यसै गरी ६० जना कार्य कारिणी सदस्य पनि निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएकोमा आईतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि ढकालले आफूले सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेकै व्यवसायीको जितभएको प्रतिक्रिया दिए ।

महासंघको केन्द्रिय सदस्यमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी पनि विजयी भएका छन् । शनिबार राती सम्पन्न मतगणना अनुसार अधिकारी केन्द्रिय सदस्य पदमा विजयी भएका हुन् । उनी महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकाल समुहबाट चुनावी मैदानमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *