नेकपा सचिवालय बैठक बस्दै, ओलीले जवाफी प्रतिवेदन पेस गर्ने

कोहलपुर, मंसिर १३,

सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ ।

सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाउँदै छन् । ठोस सहमति भएन भने निर्णय प्रक्रियामा बहुमत–अल्पमतको बाटो खुला हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट पेस भइसकेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले शनिबारको बैठकमा जवाफी प्रस्ताव पेस गर्दै छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल समूहबीचको अन्तर्सङ्घर्ष गालीगलौज र आरोप–प्रत्यारोपको तिक्त चरणमा प्रवेश गरिरहेकै वेला बस्न थालेको सचिवालय बैठक नेकपाको आन्तरिक र एकीकृत जीवनका लागि धेरै महत्वपूर्ण छ । नेकपा सचिवालयका एक सदस्यका अनुसार आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको प्रस्ताव पेस भएपछि त्यसमाथि अध्ययनका लागि एक–दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने सम्भावना छ ।

त्यसबीचमा संयुक्त प्रस्तावमा सहमति जुटेन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गर्न सक्ने ती नेताको भनाई छ । फरक–फरक प्रस्तावका कारण बहुमत–अल्पमतको दिशातिर जाने सम्भवना देखिएपछि प्रधानमन्त्री ओलीनिकट नेताहरूले सहमतिको दिशामा फर्किन आग्रहसहितको सन्देश लिएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग हिजो भेटवार्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *