श्रीमानले पैसा पठाउने दिन गन्दै बित्ने प्रिमाका दिन फेरिए

बिधुत्मा रैका,
कोहलपुर, कार्तिक १४,

४ वर्ष अघि कोहलपुर झरेकी बाजुराकी प्रिमा सार्कीको दैनिकी जुत्ता, चप्पल सिलाएर बित्छ । यो उनको पुख्र्यौली पेसा नै हो । श्रीमान र २ छोरा सहित कोहलपुर आएकी सार्कीका श्रीमानले यहाँ विभिन्न ठाउँमा ज्याला मजदुरीमा काम गर्थे । ज्याला मजदुरीको कामले परिवारको दैनिक खर्च जुटाउन मुस्किल हुन थाल्यो । त्यसपछि उनको श्रीमान पैसा कमाउन भारत पसे ।

भारतबाट श्रीमानले पैसा पठाउने दिन गन्दै उनका दिन पनि बित्दै गए । एकजनाको कमाईले नपुग्ने सोचेर उनले जुत्ता सिलाउने विचार गरिन् । र सानो लगानीमा जुत्ता सिलाउन कोहलपुरको एउटा चोकमा बसिन् । जत्ता सिलाउने पेशा उनको आम्दानीको गतिलो स्रोत बन्यो । कुनै बेला पैसाको अभावले घर खर्च चलाउन र चाडपर्व मनाउन नसकेको उनको तीतो यथार्थ छ ।

प्रिमाले जुत्ता सिलाउन थालेको अहिले २ वर्ष बित्यो । २ वर्षको अवधिमा उनले यही कमाइबाट कोठाभाडा, घर खर्च, छोराको पढाइ खर्च, लुगाफाटो सबै चलाईरहेकी छिन् । उनको सबै खर्च कटाएर मासिक रूपमा झण्डै २५ हजार हजार बढी रुपैयाँ आम्दानी हुने गरेको छ । उनले भनिन्,–‘धेरै गर्न त सकिएको छैन । पहिले जस्तो अफ्ठेरो परेको छैन । आफ्नो हातमा सिप भएपछि मान्छे भोकै बस्नु पर्दाे रहेनछ ।’ प्रिमाले एकजोर जुत्ता र चप्पल सिलाएको ३० देखि १०० रुपैँया लिने गरेकी छिन् ।

हुम्ला जिल्लामा जन्मेर बाजुराको कोल्टी बिहे गरेकी प्रिमाले जुत्ता सिलाउन बाजुरामै एउटा संस्थाले तालिम दिएपछि सिकेकी हुन् । ११ हजारको लगानीमा आफुलाई चाहिने सामाग्री किनेर सुरु गरेको उनले बताईन् । सामान्य रुपमा चोकमा बसेर जुत्ता सिलाउने गरेकी सार्कीले अहिले आफैले सानो अस्थाई चौतारो पनि बनाएकी छिन् । उनलाई जुत्ता सिलाउन भ्याई नभ्याई हुन्छ । दैनिक १५ देखि २० जना उनीसँग जुत्ता तथा चप्पल सिलाउन आउने गर्छन् ।

जुत्ता सिलाउन बसेका सुरुका दिनमा उनलाई धेरैले हाँसोको पात्र बनाएको उनी सुनाउँछिन् । तर आफू निर्धक्क भएर उनी व्यवसायमा निरन्तर लागिरहिन् । हालसम्म जुत्ता सिलाउने काम पुरुषहरुले मात्रै गरिरहेका थिए । महिलाले पनि जुत्ता सिलाउन सक्छन् भन्ने प्रिमाले गतिलो उदाहरण दिएकी छिन् । सुरुसुरुमा त जुत्ता सिलाइ पेसा नगर्न र अरु व्यवसाय रोज्न उनका श्रीमानले परिवारले दबाब दिन्थे र आफैं पनि सन्तुष्ट नभएको उनले बताईन् । उनले भनिन्,–‘सबैले हेय भावले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन । व्यवसाय विस्तारै फस्टाउँदै गयो । अहिले यसै कमाईबाट घर व्यवहार धान्न निकै सहज भएको छ ।’

उनले पुख्र्यौली कामलाई व्यावसायिक बनाएर सफल बन्न सकेकोमा आफैंलाई गर्व लागेको बताईन् । ऊ बेला जुत्ता सिलाउने पेशा छोड्न दबाब दिने उनका श्रीमान अहिले हौसला दिन्छन् । उनी भन्छिन्,–‘जुत्ता सिलाएरै आफ्नो परिवारको चित्त बुझाउन सकेकी छु । अझ त त्यो भन्दा ठूलो आमग्राहक वर्गको मन जित्न पनि सफल भएकोमा आफूलाई निकै भाग्यमानी ठानेकी छु ।’ विदेशमा गएर आफ्नो पसिना बगाउनुभन्दा स्वदेशमै बसेर कुनै पनि व्यवसाय गरेर निरन्तरता दिए सफल्ता मिल्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *