बुढीगण्डकी जलविद्युत आयोजना कार्यालयको समयसीमा थपिने

कोहलपुर, कार्तिक १३,

बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको समयसीमा सकिएपछि फेरि एक वर्ष थप्ने तयारी भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइको गत वर्ष थपिएको एक वर्षको म्याद कात्तिक १३ गते सकिँदैछ । २०७३ सालमा बुढीगण्डकी आयोजना विकास समितिको म्याद सकिएपछि यो इकाइको स्थापना गरिएको थियो । सुरुमा २ वर्षका लागि स्थापना गरिएको कार्यालयले मुआब्जा वितरण र पुनर्बासको काम नसकेपछि २ पटक १÷१ वर्षका लागि समय थप भइसकेको छ ।

तर यस अवधिमा पनि काम नसकिएपछि फेरि म्याद थप्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका बुढीगण्डकी जलविद्युत आयोजना हेर्ने फोकल पर्सन दिनेशकुमार सडौलाले इकाइको एक वर्ष म्याद थपिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *