मनको शुद्धी र धनको वृद्धिका लागि महायज्ञ

१४ पौष, २०७४
कोहलपुर : आगामि माघ १ देखि ८ गतेसम्म कोहलपुरको गोलपार्क नजिकको खुला मैदानमा महायज्ञ आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरि हरेक नगरवासीका घरमा धनलक्ष्मीको स्थापनाका लागि सो महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञका संकल्पकर्ता गोविन्द शरण महाराजले जानकारी दिए ।

यो महायज्ञ अन्य भागवत महायज्ञ भन्दा फरक रहेको बताउँदै उनले भने–“व्यक्तिको धनको वृद्वि, पितृहरुको मुक्ति र राष्ट्रप्रति यो महायज्ञ समर्पित हुनेछ ।” साथै उनले जबसम्म वातावरण र मानिसको मन शुद्व हुँदैन, तबसम्म कुनै पनि कुरा शुद्व नहुने भएकाले मनशुद्धिका लागि पनि यो महायज्ञ आयोजना गरिन लागेको बताए ।

महायज्ञ अवधिभर स्फटिक श्रीवृद्वि यन्त्रलाई विशेष पुजा पद्वतीबाट पूर्ण गर्दा पुजाकर्ताहरुको पारिवारीक समस्या समाधानसँगै सुख सम्पतीमा वृद्वि हुने बताए ।

महायज्ञको पूर्वसन्ध्यामा १५ गते शनिबार बिहान वृहत नगर सरसफाई कार्यक्रम, २२ गते अपरान्ह ५ बजे शान्तिका लागि आरतीसहित राष्ट्रप्रति समर्पित गर्दै दिप प्रज्वलन र महायज्ञको पहिलो दिन माघ १ गते शोभायात्रा गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संकल्पकर्ता महाराजले बताए ।

त्यस्तै माघ १ गते वृहत रक्तदान कार्यक्रम आयोजना गरेर रक्त अभावमा ज्यान गुमाउन बाध्य बिरामीहरुलाई सहयोग गर्ने उद्देश्य रहेको बताइएको छ ।

हालसम्म २ सय पुजाकर्ताले स्फटिक श्रीवृद्वि यन्त्रको अग्रिम बुकिङ्ग गरिसकेको र महायज्ञ अवधीभर ५ सय स्फटिक यन्त्र पुजाकर्तालाई वितरण गरिने आयोजनाले जनाइएको छ ।

यो महायज्ञ कुनै भौतिक संरचना निर्माणका लागि नभएर विशुद्ध मनको शुद्धीकरणका लागि र धनवृद्धिका लागि आयोजना गरिन लागेको हुनाले सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।

  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *