बङ्गलाचुलीमा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम प्रभाबकारी
कोहलपुर, असोज २९,
दाङको बङ्गलाचुली गाउँपालिका, अदुवा र घुइँया खेतिको लागि पकेट क्षेत्र हो ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम मार्फत अनुदान पाएपछि किसानहरु व्यवसायिक रुपमा ठुलो परिमाणमा यसको खेती गर्न थालेका छन् । आफ्नै लगानीमा व्यवसायिक रुपमा खेती गर्न नसक्ने किसानका लागि मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले सजिलो बनाएको धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समुहका अध्यक्ष खेतुलाल कामीले बताए ।
वडा नं २ को मर्पेश र वडा नं ६ को शिरीखर्कमा रहेका किसानहरुले दुई समुह मार्फत् ग्रामिण विकास कार्यक्रमबाट ४६ क्विन्टल घुइया र १६ क्विन्टल अदुवा खेती गरेका छन् । अनुदान पाएपछि व्यवसायिक रुपमा खेती गर्न पाएको भन्दै किसानहरू उत्साहित भएका छन् । गतवर्षको फागुन महिनाबाट सुरु भएको खेतीका लागि किसानहरुका लागि साढे ६ लाख अनुदान प्राप्त भएको छ । गाउँपालिकाका उपाध्यक्ष यमुना थापा घर्ती आगामि दिनमा कार्यक्रमलाइ थप व्यवस्थित बनाउने बताउँछन् ।
चालु आर्थिक वर्षदेखिसुरु हुनेगरी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको लागि उपमहानगरपालिकामा ८० लाख, नगरपालिकामा ७० लाख र गाउँपालिकामा ६० लाख बजेट विनियोजन गरिएको छ । गतवर्ष प्रदेश पाँचको ७३ वटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।