विश्व हात धुने दिवस मनाइँदै

कोहलपुर, असोज २९,

विश्व हात धुने दिवस औपचारिक रुपमा बिहीबार मनाइँदैछ ।

‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन साबुन पानीले मिचिमिची हात धुन आवश्यक रहेको संदेशसहित दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै घर बस्दा या अफिस तथा भीडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि साबुन पानीले हात धुन जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको अभावमा ५ वर्षमुनिका झण्डै १५ लाख बालबालिकाको झाडापखाला र निमोनियाका कारण ज्यान गइरहेको छ । नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्वेक्षण २०१६ ले नेपालका ग्रामिण क्षेत्रमा झण्डै ७५ प्रतिशत र सहरी क्षेत्रमा झण्डै ८५ प्रतिशत घरमा साबुन पानीले हात धुने ठाउँ रहेको पाइन्छ । तर हात कतिले धुने गरेका छन् भन्ने अध्ययन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *