गर्भवती महिलाको तथ्यांक मोबाइलमा, ‘स्वास्थ्य संस्था जान सजिलो’

१४ पौष, २०७४
बैतडी : बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्न थालिएको छ ।

‘मेडिक मोबाइल’ नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न सुरु गरेको हो ।

प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य सुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए ।

पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सन्चालनमा आइसकेको छ । उनले भने, ‘अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य सुरु भएको छ ।’

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा दर्ता गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् ।

उनले भनिन् ‘मातृदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ ।’

मोबाइल कार्यक्रमले सहज

बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

एक महिना अघिदेखि सुरु भएको पाटन नगरपालिकामा रहेका गभर्वती महिलाको गर्भ जाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज आउने भएकाले सजिलो भएको हो ।

यसका लागि नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि यो कार्यमा सहज भएको पाटन नगरपालिकाका स्वास्थ्य इन्चार्ज मदन महराले बताए ।

उनले भनिन्, ‘नगरपालिकाभित्र रहेका १० ओटै वडाका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा जाँच गर्न लैजानका लागि झनै सहज भएको छ ।’

स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा १ सय रुपैयाँको रिचार्ज पनि स्वास्थ्यचौकीले नै उपलब्ध गराउने गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *