पोखरा ओपन भेट्रान्स टेनिसको उपाधि कमल भण्डारीलाई

१४ पौष, २०७४
पोखरा :  १५औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत् ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमलबहादुर भण्डारीले जितेका छन् ।

शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा सो उमेर समूहमा नेपालकै शीर्ष बरीयँताका भण्डारीले दोस्रो बरीयँताका श्रीराम मगरलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

उपाधिसँगै भण्डारीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपविजेता मगरले २० हजार रुपैयाँ पाए ।

यसअघि, २०७३ सालको उपाधि पनि भण्डारीले नै जितेका थिए । २०७२ मा भने मगरले फाइनलमा भण्डारीलाई नै पराजित गर्दै उपाधि चुमेका थिए ।

प्रतियोगिताअन्तर्गत् ४५ वर्षमाथि एकलतर्फको उपाधि पोखराका धरमबहादुर लामिछानेले जिते ।

शुक्रबारै भएको फाइनल खेलमा टिम मन्डिखाटारका विकास गुरुङलाई ६–३, १–६ र सुपरटाइमा १०–५ को जित निकाल्दै धरमले सो उपाधि रक्षा गरेका हुन् ।

उपाधिसँगै लामिछानेले २० हजार रुपैयाँ र उपविजेता गुरुङले १० हजार रुपैयाँ पुरस्कार पाए ।

त्यसैगरी, ५५ वर्षमाथि एकतर्फको उपाधि पनि पोखराकै अनिल तुलाचनको नाममा रह्यो ।

तुलाचनले फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा पन्छ्याए । विजेता तुलाचनले २० हजार र उपविजेता थकालीले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैकका प्रोमोटर किरण केसीले एक कार्यक्रमकाबीच पुरस्कृत गरे ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको पाँचदिने प्रतियोगितामा देशभरका १ सय २५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *