बालिका शिक्षाबारे सामुदायिक रेडियो मार्फत विषेश बहस हुँदै

कोहलपुर, असोज २४,

नऔं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा भोलि आइतबार किशोरीहरुले आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन् ।

सिकाइ कहिल्यै रोकिँदैन भन्ने विश्वब्यापी अभियान अन्र्तगत किशोरीहरुले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा बहस गर्नेछन् । यस बर्षको अन्तर्राष्ट्रि बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ तय गरिएको छ ।

कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरलाई कम र उनीहरुलाई विद्यालय फर्काउन के गर्न सकिन्छ ? भन्नेमा छलफल हुनेछ । स्थानिय सरकारसँग किशोरीहरुले सामुदायिक रेडियो बहस मार्फत आफ्ना सवालहरुलाई अघि सार्नेछन् । किशोरीले कोभिडपछि समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् ।

सामुदायिक रेडियोको अगुवाइमा स्थानिय सरकार, जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरी किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा किशोरी एक दिन रेडियो प्रस्तोता र अतिथीको भूमिकामा रहनेछन् । कोभिडपछि बालिका शिक्षाका लागि सिकाई कहिल्यै रोकिदै भन्ने विषेश अभियान घोषणा गरेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका २६ रेडियोमार्फत् हाम्रो सवाल–हाम्रै नेतृत्वमा बहस गर्न लागिएको हो ।

किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानिय सरकार, सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । कोभिड–१९ अघि १३ करोड बालिकाहरू विद्यालयको पहुँचभन्दा बाहिर थिए । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको तथ्याङक अनुसार कोभिड–१९ पछि १ करोड १० लाखभन्दा बढी बालिकाहरू पुनः विद्यालय जान नसक्ने जोखिममा रहेको आकलन गरिएको छ ।

विद्यालय पुनः खुलेपछि केही बालिकाहरूले आफ्नो शिक्षालाई निरन्तरा दिन्छन् तर कतिपय बालिकाहरू भने पुनः विद्यालय कहिल्यै नआउन सक्छन् । नेपालमा पनि नेपालमा पनि ५३ प्रतिशत किशोरी स्कुल फर्किन नसक्ने हालै गरिएको एक सर्बेक्षणले देखाएको छ । कोभिड–१९ महामारीको समग्र असरका कारण विश्वमा बालविवाहका घटनामा थप १ करोड ३० लाखले वृद्धि हुने संभावना छ । नेपालमा पनि जोखिम छ ।

हरेक मुलुक र समुदायमा बालिकाका शैक्षिक आवश्यकता प्राथमिकतामा नराखे विगत २० वर्षमा हासिल भएका प्रगति गुम्न सक्ने सयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । कोभिड–१९ को महामारी उच्च बिन्दुमा पुगेको बेला २ सय भन्दा बढी मुलुकमा विद्यालय बन्द हुँदा १ अर्ब ५० करोड भन्दा बढी विद्यार्थीहरू प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *