महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्रयाक कोर्ट’को व्यवस्था गर्न माग
कोहलपुर, असोज २३,
अन्तर पार्टी महिला सञ्जालले महिला हिंसाका मुद्दा हेर्न महिला न्यायाधीश रहने गरी छुट्टै ‘फास्ट ट्रयाक कोर्ट’को व्यवस्था गर्न माग गरेको छ ।
गृह मन्त्री र राज्य व्यवस्था तथा सुशासन समितिमा हिजो ध्यानाकर्षण पत्र बुझाउँदै सञ्जालले महिला हिंसाका मुद्दा राज्यवादी हुने भएकाले छुट्टै अदालतको व्यवस्था गर्न माग गरेको हो । अहिलेको जस्तो सामान्य बेञ्चबाट पीडितले न्याय पाउन र महिला हिंसा रोक्न नसकेको बताउँदै महिला हिंसाका घटना विशेष हुने भएकाले महिला नै न्यायाधीश र छुट्टै कोर्टको माग गरेको सञ्जालका अध्यक्ष सावित्रा भुसालले जानकारी दिए ।
बलात्कार जस्तो जघन्य अपराधका घटनालाई मेलमिलापबाट टुंग्याउने प्रवृत्ति बढेको सञ्जालले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । बलात्कारका घटना मेलमिलाप गराउने व्यक्तिलाई मतियारका रुपमा कार्बाही गर्न पनि सञ्जालले माग गरेको छ ।