बढ्यो कोरोना सङ्क्रमण दर, एकसय जनाको जाँच गर्दा २४ जनामा सङ्क्रमण

कोहलपुर, असोज २३,

मुलुकमा पछिल्लो २४ घण्टामा एकसय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी सङ्क्रमण दर भएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा ५८.२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेका अनुसार यो निकै नै गम्भीर अवस्था हो । पछिल्लो समय महिला सङ्क्रमित हुने क्रम पनि बढेको छ । बिहीबार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३५.७६ प्रतिशत महिला रहेका छन् । हालसम्म सङक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर परीक्षण बढाइएपछि सङक्रमित धेरै फेला परेका भन्दै पाण्डेले उपत्यका बाहिर कोभिड परीक्षण कम भएर सङ्क्रमण बढी नदेखिएको हुन सक्ने बताए । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेला भिडभाड नगर्न तथा सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ ।

हिजो नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गर्नुभएको हो । आवतजावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पूजा गर्ने व्यवस्था मिलाउन पनि सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *