प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा छलफल हुँदै

कोहलपुर, असोज १९,

दाङको भालुवाङमा ५ नम्बर प्रदेशको राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा सोमबार प्रदेशसभाको बैठकमा छलफल हुने भएको छ ।

छलफलका लागि प्रदेश सभाको बैठक मध्यान्ह् १२ बजेका लागि बोलाइएको सभामुख पूर्ण घर्तीका प्रेस सल्लाहकार गणेश ओलीले जानकारी दिए । छलफलमा भाग लिनका लागि इच्छुक सांसदहरूलाई बिहान ११ बजेसम्म नाम टिपाउन भनिएको छ ।

सांसदहरूले विचार राखिसकेपछि संसोधन हाल्नका लागि आजबाट समय सुरु हुनेछ । प्रदेश सभाको तीन दिनअघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो । कतैबाट संसोधन परेन भने एकदुई दिनमा नामाकरण र राजधानीको विषय टुङ्गिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । संसोधन सुरु भएको १८ घण्टापछि प्रक्रियामा जाने व्यवस्था छ । प्रक्रियामा जाँदा दुई तिहाइ अर्थात कुल ७९ सांसदमध्येमा ५८ मत आयो भने सरकारको प्रस्ताव पारित हुनेछ । पुगेन भने फेरि संसोधन प्रस्तावमा मतदान हुनेछ । ५ नम्बर प्रदेश सरकारले नामाकरण र राजधानीको बारेमा ल्याएको प्रस्तावमा सत्तारुढ दलकै सांसद र काँग्रेसलगायतका दलहरूले असहमति जनाउँदै आएका छन् भने वुटवलमा नै राजधानी राख्नुपर्ने माग गर्दै आन्दोलन पनि भइरहेको छ ।

प्रदेश सभाको बैठक बस्नुअघि नेकपा प्रदेश ५ संसदीय दलको बैठक बस्दैछ । दलले सांसदहरूलाई सरकारको प्रस्तावमा मतदान गर्नका लागि फेरि ह्विप जारी गर्ने भएको छ । सत्तारुढ नेकपाका १६ जना सांसद सरकारको प्रस्तावको विपक्षमा उभिएपछि थप छलफलका लागि संसदीय दलको बैठक आज बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *